संस्कार विश्वबिद्यालयको डिग्रिबाट आउँदैन

श्रेष्ठ संस्कारबाट नै श्रेष्ठ समाजको निर्माण हुन्छ ।

संस्कार – सम् अर्थात् सम्यक अर्थात् राम्रो

कार – अर्थात् कार्य, कृति

प्रत्येक कार्य राम्रो अर्थात् संस्कारयुक्त हुनुपर्छ । जस्तै केरा खाएर हामी बोक्रा फ्ँयाक्छौ, त्यो कृत्य हो । केरा खाएर बोक्रा फोहोर राख्ने भाडामा फ्ँयाक्नु, यो प्रकृति हो । केरा खाएर बोक्रा सडकमा फ्ँयाक्नु, यो विकृति । अन्य व्यक्तिद्वारा सडकमा फ्ँयाकेका बोक्रा टिपेर निस्चित ठाउँमा फ्ँयाक्नु, यो संस्कृति ।

विचार एवं कृति राम्रो हुनु हुनको लागी संस्कारको आवश्यकता हुन्छ ।

संस्कार अर्थात सदगुणलाई गुणन गरेर बढाउनु एवं दोषलाई भागफल अर्थात् दोषलाई घटाउनुपर्छ । बच्चाहरुलाई  राम्रो संस्कार गर्ने अर्थात् उनीहरुलाई ‘आमाबुवाहरुलाई  प्रतिदिन नमस्कार गर’, ‘अर्काको निन्दा नगर’ इत्यादि कुराहरु सिकाउनुपर्छ । तर कसरी ? मात्र तत्त्वज्ञान भनेर होइन, कथा भनेर होइन, चकलेट, आईस्क्रीमको लालच देखाएर होइन, अपितु आफ्नो कृतिद्वारा । आठ बर्षका बच्चालाई  प्रतिदिन आफुभन्दा अग्रजहरुलाई नमस्कार गर्नको लागी आज्ञा दियो भने, उसले चार दिन गर्छ । पाँचौ दिन भन्यो भने ”मँ गर्दिन ’’ भन्न थाल्छन  । उसलाई नमस्कार गर्यो भने यस्तो यस्तो लाभ हुन्छ भनेर, तत्त्वज्ञान बारे भने पनि, त्यसको उपयोग हुँदैन । यदि तपाईलाई लाग्छ कि, तपाइको बच्चा ज्येष्ठहरुलाई नमस्कार गरोस, त्यसको एक मात्र उपाय छ, कि आजबाट तपाई घरका सबै अग्रजहरुलाई प्रतिदिन एकपटक नमस्कार गर्नुहोस । बच्चाहरुलाई एकपटक पनि नमस्कार गर्नको लागी नभन्नुहोला । चार दिनपछि तपाइको बच्चा तपाइको पछि आएर घरका ज्येष्ठहरुलाई नमस्कार गर्न थाल्छ । उसलाई लज्जा हुन्छ कि, मेरा बुवा-आमा प्रतिदिन हजुर बुवा-आमा, दिदिहरुलाई नमस्कार गर्नुहुन्छ । म मात्र बिना लाज नमानी बसिराखेको छु । संस्कार गर्नुहोला अर्थात् मौन भएर कृत्य गर्दै गर्नुहोला !

विश्वबिद्यालयको डिग्रिबाट संस्कार सिकिदैन । संस्कार भनेको बच्चैदेखि आफना बुबा-आमाबाट सिकिने कुराहरु हुन् ।

संस्कार बिना जतिसुकै पढेलेखेका भएपनि त्यसको समाजमा कुनै मूल्य र मान्यता हुँदैन, भलै अरुले उसको अगाडि केहि नभने पनि समाजले उसको मुल्यांकन गरिराखेको हुन्छ ।

आजको आधुनिक र बदलिदै गएको समाजमा यस्ता राम्रा संस्कार हराउँदै गएको पाइन्छ । मै खाउँ, मै लाउँ भन्ने घटिया स्वार्थी प्रवृतिले विगतमा समाजमा शान्त उदाहर्णिय बनेको परिवार आज आएर भताभुङ्ग भएको पाइएको छ ।  कसैको घरमा आफ्नै सन्तानको कारण त कसैको घरमा भित्रिएका परिवारका सदस्यका कारण यस्ता घटनाहरु घटिरहेको पाइन्छ ।

जसले गर्दा आफ्ना जन्मदाता बुबा-आमाहरुलाई समेत आफ्ना सन्ततिले अनेक लान्छना, दुर्ब्यबहार गरेको वास्तबिकताहरु छन्, हाम्रा समाजमा ।

बुबा-आमा भनेको जस्तोसुकै भएपनि, जतिजना सन्तान भएपनी आफ्ना  सबैजना सन्तानको सधै प्रगति र भलो भएको हेर्न चाहन्छन्, आफु भोकै, प्यासै र जस्तो पिडा, दुखको भारि मनभरि राखेर भएपनि । तर आजको समाजका तपाई-हामीहरु, आफ्नै जन्मदातहरुप्रति बुढेसकालमा पनि अनेक शंका-उपशंकाले उहाँहरुको चित्त दुखाइराखेका हुन्छौ । जुन उहाँहरुको पिडा शायद निकट भविस्यमा हामीहरुले पनि अवश्य पनि भोग्नेनैछौ ।

जस्तो संस्कार हामी हाम्रा सन्ततिलाइ सिकाउछौ, अवश्य पनि ढिलो-चाँडो हामी माथि पनि घुमेर आउँछ । त्यसकारण एकपटक हामीमा उत्पन्न भएको कु-संस्कारलाई राम्ररी चिन्तन-मनन गरेर, विगतमा भएका कमि-कमजोरीहरुको सहि समीक्षा गरेर, भविष्यमा पनि त्यस्ता कु-संस्कारलाई नदोहोर्याई आफ्ना जन्मदाता बुवा-आमाहरुप्रति गर्नुपर्ने कर्तव्यबाट टाढा नभागौं । अरुको लहलहैमा लागेर होइन, आफ्नै स्व:विबेक प्रयोग गरौं, अनि आफ्ना सन्तानलाइ पनि राम्रो संस्कारमा बाँच्न सिकाउँ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *