बुद्ध एक मार्ग प्रदर्शक हुनुहुन्छ

गौतम बुद्ध भन्नुहुन्थ्यो – “म बरदान दिनबाट टाढा छु । प्रयत्न गर्नुपर्छ, तथागत त मार्ग प्रदर्शक मात्र हो । तथागतको निर्देशनानुसार त्यो बाटोमा हिंडन सक्यो भने आफ्नो लक्ष्य पूरा हुनसक्छ । म तिमीहरुको मुक्तिको जिम्मा लिन सक्तिनँ ।” अत्त दीपो भव, अत्त सरणा अनञ्ञसरणा अर्थात् तिमीहरु आफ्नो द्विप आफैले बनाइ हिंड, आफ्नै शरणमा जाउ । अर्काको शरणमा न बस ।”

भगवान बुद्धको यी धारणाहरुबाट हामीले के बुझ्न सक्छौ भने उहाँले अरू देव- देवीहरुले झैं कसको मुक्तिको जिम्मा लिनु भएको छैन । यस्तो होओस् । त्यस्तो होओस् । तिम्रो मनको इच्छा पूर्ण होओस् भनेर कसैलाई बरदान पनि दिन सक्नुहुन्न । बुद्ध भन्नुहुन्छ – “आफ्नो काममा आफैले प्रयत्न गर, आफ्नै द्विप बनाउ अरू कसैको शरणमा नपरिकन आफ्नै शरणमा जाउ । म त केवल यो बाटोबाट हिंड्यो भने राम्रो हुन्छ,भलाई हुन्छ, यो बाटोबाट हिंड्यो भने नराम्रो हुचा, कुभलो हुन्छ भनेर बाटो मात्र देखाउँछु ।” यी सबै उपदेश त्यसै भनेका  होइन । यी विषयहरु माथि आफैले प्रत्यक्ष अनुभव गरि बताईएका हुन् ।

कुनै पनि कुरा चाहे त्यो त्रिपिटकमा नै लेखिएको किन नहोस् त्यस्ता कुरालाई विचारै नगरीकन, आलोचना नै नगरीकन पत्याउन खोज्नु अन्धविश्वास र मूर्खस्वभाव सिवाय अरू केहि हुँदैन । बुद्धधर्मले यस्ता विषयमा सजग, सतर्क हुन प्रेरणा दिन्छ । आफ्नो आँखाले नहेरी, कानले नसुनी, पक्ष-विपक्ष नजाँची, आफ़ुबाटै अनुभव नगरीकन गुरुले भनेको कुरालाई यस्तै हो भनि पत्याउनु गुरुलाई पत्याउनु हो ।  यसरी सोझै रूपमा पत्याउनु मूर्खता हो प्रष्ट रुपले अनुभव गरेपछि पत्याउनु बुद्धिमानी हो । हामीले कुनै पनि कुरा पढिसकेपछी, सुनिसकेपछि सिकाईएका कुरा प्रस्टरुपले नदेखिएसम्म खोज गरिराख्नुपर्दछ ।यसरी खोजविन गर्दा पनि देख्न सकिएन भने तर्कको सहारा लिनुपर्छ । अनि केही समयको लागि छाडिदिनुपर्छ । तव बिस्तारै हामीले पत्याउन थाल्नेछौं र स्पष्ट रूपमा देख्न थाल्नेछौं ।

यसप्रकार भगवान बुद्धले धेरै समय लगाएर प्रत्यक्ष आफुले देखेर, आफ्नो कानले सुनेर, आफ्नो मनले अनुभव गरेर विभिन्न मार्गको बारेमा व्याख्या गरेका छन् । यसलाई अझ स्पस्ट पार्न बुद्धकालीन एउटा घटनालाई प्रस्तुत गर्न चाहन्छु ।

बुद्धकालीन घटना हो । एकजना भद्र पुरुष बुद्धकहाँ आएर आफ्नो जिज्ञासायुक्त प्रश्न यसरि राख्नुभयो – “भन्ते ! तपाईं ठूलो महापुरुष हुनुहुन्छ । अंगुलिमाल जस्ता डाँकु र आलवक जस्ता भयानक राक्षसहरुको हृदय परिवर्तन गर्ने क्षमता तपाईंमा रहेको छ । तपाईंको मन शुद्ध र पवित्र भए जस्तै आचरण पनि स्वच्छ र निर्मल छ । त्यसैले तपाईं यथावादी तथाकारी हुनुहुन्छ । तपाईं भित्र अधिकांश मानिसहरुलाई बोध गर्न सक्ने कार्य क्षमता लुकेको छ । तर एउटा कुरा तपाईं स्वयंको भिक्षु संघका सदस्यहरुमा कुनै-कुनै चरित्र नराम्रा भएका तथा अनुक्षासनहिन व्यक्तिहरु पनि देखिन्छ्न् । यसो हुनाको खास कारण के होला ?”

भगवान बुद्धले प्रत्युत्तर नदिइकन प्रतिप्रश्न गर्दै उक्त्त पुरुषलाई प्रश्न गर्नुभयो – “तपाईं कहाँबाट आउनुभएको ?”

“म राजगृहबाट आएको हुँ ।” पुरुषले जवाफ दियो ।

बुद्धले भन्नुभयो – “त्यसो भए तपाईंसित कसैले राजगृह जाने बाटो बारेमा सोधेको थियो ?”

भद्र पुरुष – “अँ ! धेरैले सोधेका थिए नी ।”

बुद्ध – !के ती सोध्नेहरु सबै राजगृह मै पुगेका छन् त ?”

भद्र पुरुष – “त्यो त मलाई थाहा छैन । कोही पुगे होलान् त कोही पुगेनन् पनि होला नि ।”

बुद्ध – “सोधेर पनि किन पुगेनन् ?”

भद्र पुरुष – “यसमा मेरो केही दोष छैन । मैले बताइ दिए अनुसार जानेहरु अवश्य पनि राजगृह पुगे होलान् भने नजानेहरु पुग्दैनन् ।” अनि त्यसपछि बुद्धलाई उक्त पुरुषलाई बुझाउन सजिलो भयो र भन्नुभयो – “हे भद्रपुरुष ! तपाईंले जस्तै मैले पनि भिक्षुहरुलाई बाटो देखाई दिएको छु र थिएँ ।  तर उनीहरु मिले देखाएको बाटोमा हिंड्दैन भने त्यसमा मेरो के दोष ?” उहाँले फेरि भन्नुभयो  – “सुद्धि असुद्धि पच्चत्तं नाञ्ञो अञ्ञं वोसोधये” अर्थात शुद्धि र अशुद्धि सकैले व्यवहारको कुरा हो, आफ्नो वशको र स्व:मनमा आधारित कुरा हो ।  आफूले नै महशूस गरि संयमित जीवन बिताए दुख:बाट मुक्ति पाईने मार्गमा पुग्न सकिन्छ । मैले कसैलाई सम्झाउने र बुझाउने मात्र गर्छु सिवाय दबावमा पारी वा करकापले कसैलाई असल मानिस र असल भिक्षु बनाउन सक्दिन ।” भगवान बुद्धले अगाडी भन्दै जानुभयो – “म कहाँ भिक्षु हुन आउनेहरु शुरु-शुरुमा नयाँ दुलही जस्तै लज्जालु हुने गर्छन् ।” उदाहरण दिंदै भगवान बुद्धले सम्झाउदै भन्नुभयो – “फुलको बिरुवा सार्दा खेरी नयाँ दुलहीको जस्तै शीर निहुरी रहन्छ तर जव त्यस बोटको जरा जमिनमुनि जम्छ, अनि ठाडो भएर थिंग्रिंग उभिन थाल्दछ । त्यसरी नै म कहाँ भिक्षु हुन आउनेहरु पनि शुरुमा असल र संयमित नै हुन्छन् । जब आफ्नो खुट्टा जम्छ अर्थात् अस्तित्व कायम गरी सक्छ, त्यतिबेला पुन: पुरानो संस्कारको पुनर्जन्म हुन्छ, पुरानो नै आचरण र व्यवहार बिस्तारै पलाएर आउँछ । अनि ठाडो स्वभावको हुन्छ। नरम भाव लोप हुँदै जान्छ । होश नै गुमेर असंयमित बनिदिन्छ ।

यी कुराहरु सुन्दै बसेका भद्र पुरुष एकदमै प्रभावित भए र खुशीले भावविभोर भए । अनि उसले पनि बुद्धको सच्चा अनुयायी बनेर आफ्नो आचरण र व्यवहार सुद्ध पारी आफ्नो जीवन सुखमय बनाए ।

माथिका यी सम्पूर्ण घटनाबाट कि प्रस्ट हुन्छ भने गौतम बुद्ध एक सच्चा मार्ग प्रदर्शक हुनुहुन्छ ।

(साभार: मेरो आफ्नै पुस्तक बुद्ध र उहाँको धर्म पुस्तक, बि. सं. २०५६ बाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *