बुद्धकालीन पुनः उपयोग बिधि (Re-Use Method)

अहिलेको संसारमा विज्ञानको दिनहुँ नयाँ-नयाँ खोज र आविष्कारले गर्दा करोडौं अरबौंको रूपमा विभिन्न सामानहरू उत्पादन हुन्छन् । ती सामानहरूमा कैयौं एकपटक विभिन्न काममा प्रयोग भइसके पछि पुनः प्रयोग गर्न सकिंदैन भने कैयौं एकपटक प्रयोग भइसकेपछि पनि त्यसको पुनः प्रयोग गर्न सकिने हुन्छ । तैपनि ती दुबैथरीका सामानहरु त्यसै सडकमा, खाल्डोमा मिल्काउने गर्छन । जसले गर्दा शहर बजारलाई दूषित बनाइ दिनुको साथै ठाउँलाई पनि साँघुरो बनाइ दिन्छन्।

यसैले हामीले एकपटक प्रयोग भैसकेको सामान वा वस्तुलाई फेरी पनि पुनः उपयोग गर्न सकिनेलाई प्रयोग गर्न सकियो भने थोरै मेहनेत र थोरै पैसाबाट पनि त्यस्ता बस्तुहरुको प्रयोग गर्न सक्छौं । यस सन्दर्भमा आजभन्दा २६०० बर्ष अगाडि बुद्धकालीन समयमा भएको चीवरको अधिकतम उपयोग बारे एकपटक दृष्टि पुर्याऔं ।

धम्मपदट्ठकथा अनुसार बुद्धकालीन भारतको वत्स देशको राजधानी कौशाम्बीको घटना हो यो । भिक्षु आनन्दको धर्मकथाबाट प्रसन्न भई एकदिन महारानी श्यामावतिले उहाँमा ५०० वटा चीवर चढाउनुभयो । महारानी श्यामावतिले दान दिनु भएको उक्त चीवर एउटाको ५०० रुपैयाँ पर्दथ्यो । भिक्षु आनन्दले ५०० वटा चीवर सहज रुपमा ग्रहण गरी लिएको कुरा सुनी उदेन राजा आश्चर्य चकित हुनुभई भिक्षु आनन्दसँग सोध्नुभयो – “भन्ते ! यतिका बस्त्र ग्रहण गरेर तपाईं के गर्नुहुन्छ ? बढी भएन र ?”

भिक्षु आनन्दले भन्नुभयो – “महाराज, आफुले चाहिने जति राखी बाँकी चीवर म थोत्रो चीवर लाउने भिक्षुहरूमा बाँडने छु ।!”

राजाले फेरी प्रतिप्रश्न गर्नुभयो – “अनि ५०० वटा पुरानो चीवर के गर्नुहुन्छ नि ?”

“बिछ्यौनाको तन्नाको काममा लिनेछु ।“

“पुरानो तन्ना के गर्नुहुन्छ त ?”

“महाराज ! भुईंमा ओछयाउने काममा लिनेछु ।“

“पुरानो भुईंमा ओछ्याइराखेको कपडा के गर्नुहुन्छ त ?”

“खुट्टा पुछ्ने झुम्रोको काममा लिनेछु ।“

“पुरानो खुट्टा पुछ्ने झुम्रो के गर्नुहुन्छ त ?”

“त्यसलाई टुक्रा-टुक्रा पारी माटोसंग मुछी भितामा लिप्ने काममा प्रयोग गर्नेछु ।“

भिक्षु आनन्दबाट दान दिएको बस्तुको यसरी अधिकतम उपयोग भएको कुरा सुनी राजा उदेन प्रसन्न हुनुभयो । यस खुशीयालीमा राजा उदेनले उहाँको चरणमा अरु ५०० वटा चीवर पनि चढाउनुभयो ।

यस घटनाबाट बुद्धकालीन भिक्षुहरु वस्तुको पुन:उपयोग (Re-use) मा अति सचेत हुनुहुन्थ्यो र उहाँहरु झुम्रोलाई माटोमा मुछी बस्तुको पुनर्चक्र (Recycle) समेत गरेर प्रयोग गर्नुहुन्थ्यो भन्ने कुरा थाहा हुन्छ ।

यसप्रकारले हामीले पनि बस्तुको पुन: उपयोग गर्न सकेमा वातावरण प्रदुषणबाट केहि हदसम्म मुक्त हुनाको साथै प्राकृतिक विनाशबाट पनि आजको विश्व बच्न सक्दछ । अस्तु ।

(चीवर: भिक्षुहरुले लाउने वस्त्र)

(साभार: मेरो आफ्नै पुस्तक बुद्ध र उहाँको धर्म पुस्तक, बि. सं. २०५६ बाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *